खेल ३: शक्ति चाल (Power Walk) ।
१. खेलको नाम: हाम्रो शक्ति कति छ ?
अवधि: ३० मिनेट
सहभागी संख्या: १० (बांकी पर्यवेक्षक)
२. खेलको उद्देश्य
  • हाम्रो समाज र शासकीय व्यवस्थामा को संग कति शक्ति हुन्छ भन्ने बारेमा जानकारी गराउने ।
  • खेलको माध्यमवाट केही समयको लागि मात्र पनि शक्ति विहिन वा कमजोर हुदा कस्तो तनाव हुँदो रहेछ भन्ने महशुस गराउने ।
  • जो संग शक्ति वा अधिकार छ उसले शक्ति वा अधिकारविहीनहरुको भावना नबुझी गरेको निर्णयले कस्तो असर गर्न सक्ला भनी नागरिक सहभागिताको अर्थ वुझ्न सहयोग पुर्याउने ।
३. खेलको सामग्री
  • विभिन्न भूमिकामा रहेका मानिस वा पद लेखिएको १० वटा कागजका टुक्राहरु ।
  • वातावरणमैत्री स्थानीय शासन सम्बन्धी विषयका १० वटा कामहरु लेखिएको कागजका टुक्राहरु ।
  • खेल खेल्नको लागि करिव ४० फिट लम्वाई र २० फिट चौडाई भएको खुला ठाउँ (यो भन्दा धेरै भए झनै राम्रो) ।
४. खेल खेल्ने प्रक्रिया
  1. सहजकर्ताले सबै सहभागीहरुलाई खुला ठाउँमा लगी हामीले शक्ति चाल सम्बन्धी खेल खेल्दैछौं भन्ने जानकारी गराउने ।
  2. यस खेलको लागि १० जना सदस्य आवश्यक पर्ने हुँदा सहभागी मध्येवाट स्वैच्छिक रुपमा १० जना छनौट गर्ने ।
  3. यस वाहेकका अरु सहभागीहरु लाई पर्यवेक्षकको रुपमा रहन भन्ने ।
  4. सहभागी छनौट गर्दा सबै क्षेत्रवाट महिला, पुरुष सहभागी हुने वातावरण सृजना गर्न सहजकर्ताले ध्यान दिनु पर्दछ ।
  5. यसपछि खेलमा सहभागी भएका सबै १० जना लाई एउटै लाईनमा सिधा उभिन लगाउने ।
  6. खेलमा अघि र पछि पाईला चाल्नु पर्ने हुँदा सुरुमा सहभागीहरुलाई खेल खेल्न मिल्ने गरी दुरी मिलाई खेल खेल्ने ठाउको विचमा राख्ने ताकि सवैलाई अघि वा पछि पाईला चाल्ने ठाउँ पुगोस् ।
  7. यस तालिम सामग्रीमा विभिन्न १० वटा मानिसहरुको पद वा पहिचान दिईएको छ यसलाई १० वटा अलग अलग टुक्रा (चिट) पार्ने ।
  8. कुनै बट्टा वा भाडोमा यी टुक्राहरु राख्ने र खेल खेल्ने सवैजनालाई एक एक वटा टुक्रा लिन भन्ने ।
  9. आफुलाई के परेको छ आफूले हेर्ने तर अरुलाई नदेखाउने ।
५. खेलको नियम
  1. सहजकर्ता (खेल खेलाउने व्यक्ति) ले यस सामग्रीमा दिइएको १० वटा कार्यहरु एक एक गरेर पढ्ने ।
  2. यसमा भनिएको कुरा चिटमा लेखिएको मानिस वा पदले गर्न सक्छ वा उसलाई यो कुरा लागु हुन्छ भन्ने सहभागीहरुले एक कदम अघि वढ्ने । लागु हुदैन भन्नेहरु एक कदम पछि सर्ने ।
  3. सहजकर्ताले एउटा कार्य वा भूमिका पढेपछि खेल खेल्न कुनै पनि सहभागी आफ्नो पहिलेको ठाउँमा बस्न मिल्दैन (कि एक कदम अघि कि एक कदम पछि चल्नु पर्छ) ।
  4. सबैले यो कुरा बुझ्नु जरुरी छ, कसैले नबुझेको भए दोहोर्याएर कुरा बुझाउने ।
  5. यसपछि सहजकर्ताले पालैपालो १० वटै कार्य वा भूमिका सुनाउने ।
  6. पर्यवेक्षकहरुले कसले के गर्दैछ भन्ने कुराको विचार गरिरहने, तर यस समयमा केही बोल्न मिल्दैन ।
  7. यस खेलमा कोही सहभागीहरु धेरै अगाडि पुग्छन्, कोही निकै पछाडि हुन्छन्, भने कोही विचतिर हुन्छन् ।
  8. सबै १० वटै पद वा पहिचानका सहभागीहरुले १० वटै भूमिकाको निर्वाह गरिसकेपछि अगाडि भएका सहभागीहरुलाई पछाडी फर्केर हेर्न भन्ने ।
६. खेल सकिएपछि छलफलका निम्ति सोधिने प्रश्नहरु
पहिलो प्रश्न सबै भन्दा पछाडी परेको सहभागीलाई सोध्ने अनि क्रमशः अरुलाई सोध्दै जाने ।

  1. यो खेल कस्तो लाग्यो ?
  2. तपाई किन पछि वा अघि पर्नु भयो ?
  3. हाम्रो समाज र शासन व्यवस्थामा यस्तै हुने गरेको छ की ?
  4. छ भने यसमा सुधार गर्न के गर्नु पर्ला ?
  5. यो खेलवाट के सिकाई भयो?

सहभागीहरुको विचार लिएपछि पर्यवेक्षकहरु मध्ये केहीलाई यो खेलबाट तपाईले के सिक्नु भयो वा तपाईको बुझाई कस्तो रह्यो भनी प्रश्न गर्ने ।

७. निष्कर्ष (Key Message)
  1. सामान्यतया सेवाप्रदायक (Duty Bearer) अगाडी र सेवाग्राही (Right Holders) पछाडि हुन्छन् । यसको मुख्य कारण हाम्रो कार्य प्रणाली हो । हाम्रा सेवाग्राही वा लक्षित वर्गको क्षमता विकास नहुँदा यस्तै भैरहन्छ । त्यसैले लक्षित वर्गको क्षमता विकास गरी सेवा दिने वर्ग र सेवा लिने वर्गको विचको खाडल कम गर्नु पर्छ ।
  2. पदाधिकारी वा केही जान्ने वुझ्ने मानिसहरु अगाडि र बाँकी पछाडि हुन सक्छन् ।
  3. यस्तो भयो भने हाम्रो लक्ष प्राप्त हुदैन, त्यसैले हामी सबैले यस विषयलाई ध्यानमा राखी काम गर्नु पर्छ ।
  4. वातावरणमैत्री स्थानीय शासन कार्यान्वयन तथा यसको प्रवर्धन सम्वन्धी कार्यमा घरपरिवार, टोल/वस्ती तथा वडा तहको भूमिका महत्वपूर्ण हुने हुँदा उनीहरुको क्षमता विकास गर्नु र कार्यक्रममा जिम्मेवारी सहितको सहभागिता रहनु आवश्यक छ ।
  5. ध्यान दिनु होला यो खेलमा धेरै समय लाग्न लाग्न सक्छ । सहजकर्ताले यसतर्फ ध्यान दिनु पर्छ ।
शक्ति चाल खेलका पात्र वा भूमिका (नमूना)
  1. गाउँपालिका अध्यक्ष
  2. कृषि शाखा प्रमुख
  3. एकल महिला
  4. बेरोजगार युवा
  5. आधारभूत तहका विद्यालयका शिक्षक
  6. सामाजिक परिचालक
  7. दलित महिला
  8. किसान
  9. अपांगता भएको व्यक्ति
  10. प्रमुख राजनीतिक दलको कार्यकर्ता
शक्ति चाल खेलमा भनिने वाक्यहरु (नमूना)
  1. म वातावरणमैत्री योजना बनाउन सक्छु ।
  2. म आफुले चाहेको योजनामा पालिकाको बजेट विनियोजन गराउन सक्छु ।
  3. म मेरो घरलाई वातावरणमैत्री वनाउन सक्छु ।
  4. म वातावरणमैत्री स्थानीय शासनका सूचकहरुको बारेमा जानकार छु ।
  5. म वातावरणमैत्री अभियन्ता वन्न सक्छु ।
  6. म आफुलाई आवश्यक परेको समयमा काम सम्वन्धित पदाधिकारीलाई भेटेर आफ्नो काम मिलाउन सक्छु ।
  7. म जलवायु परिवर्तनका असरहरु बारे जानकार छु ।
  8. म मानिसहरुको सामुन्ने उभिएर भाषण गर्न सक्छु ।
  9. म सरसफाइ अभियानमा स्थानीय नागरिकलाई परिचालन गर्न सक्छु ।
  10. म कुहिने र नकुहिने फोहरको वर्गीकरण गर्न सक्छु ।