खेल १ : भूमिका निर्वाह (Role Play)
वातावरणमैत्री स्थानीय शासन’मा आधारित भूमिका निर्वाह (Role Play) खेल।
१. खेलको नाम: विकास कि विनाश? निर्णय तपाईंको
अवधि: ५५ मिनेट
हभागी संख्या: ८ देखि १० जना (अन्य सहभागीहरु अवलोकनकर्ताका रुपमा रहन सक्ने)
२. खेलको उद्देश्य
  • विकासका योजनाहरू बनाउँदा वातावरणमा पर्ने प्रभावबारे सहभागीहरूलाई संवेदनशील बनाउनु।
  • सहभागितामूलक विधि अवलम्बन गरी संवाद र बहस बाट सहमति खोज्न सकिन्छ भन्ने कुरा बुझाउनु।
  • विकास र वातावरण संरक्षण संगसंगै जान सक्छ भन्ने कुरा बुझाउनु।
३. खेलको विषय: नेपालको पहाडी क्षेत्रमा पर्ने लामाचौर गाउँपालिकामा ठूलो सिमेन्ट उद्योग खोल्ने प्रस्ताव आएको छ।
  • सकारात्मक पक्ष: उद्योगले कम्तिमा ५०० जनालाई रोजगारी दिनेछ, गाउँपालिकाले कर उठाउन सक्ने छ, प्राप्त कर रकमले पक्की सड़क लगायतका भौतिक पूर्वाधार निर्माण गर्न र वातावरणमैत्री स्थानीय शासन पद्धतिको प्रवर्धन गर्न पनि सकिने ।
  • नकारात्मक पक्ष: उद्योगका लागि करीब २००० रुख काट्नुपर्नेछ, नजिकैको पानीको मुहान सुक्न सक्ने, उद्योगबाट निस्कने धुलो-धुवाँले स्थानीय मानिसहरुको स्वास्थ्यमा असर गर्न सक्ने ।
४. पात्रहरू र उनीहरूको भूमिका
नाम कार्ड लेखी सहभागीहरूलाई निम्न पात्रको रुपमा जिम्मेवारी दिने:

  1. गाउँपालिका अध्यक्ष: उद्योग खोल्न दिनु पर्ने, स्थानीयको भावना पनि समेट्नु पर्ने, स्थानीय नागरिकको चित्त वुझाउन नसके अर्को चुनावमा भोट घट्न सक्ने हुँदा भोट पनि जोगाउनु पर्ने ।
  2. उद्योगी: उद्योग संचालन गरी नाफा कमाउने योजना ।
  3. वातावरण अभियन्ता: वन तथा वातावरण संरक्षणको कुरा कडा रुपमा राख्नु पर्ने, उद्योगले वन तथा वातावरणको विनास गर्छ भनी चर्को विरोध गर्ने र वातावरणमैत्री दिगो विकासको वकालत गर्ने ।
  4. बेरोजगार युवा: पानी मुहान सुक्न जाने र अलिअलि भएको खेती पनि विग्रन्छ कि भन्ने चिन्ता एकातिर भए पनि अर्को तिर उद्योग संचालन भएमा रोजगारी पाइने वा स्वरोजगार हुन सकिने अपेक्षा ।
  5. स्थानीय किसान (महिला/पुरुष): पानी मुहान सुक्ने, बाढी पैह्रो जाने, जमिन सुख्खा हुने, खेती विग्रने र आफ्नो जिविकोपार्जनमा समस्या हुने चिन्ता ।
  6. वडा अध्यक्ष: आफ्नो वडामा पक्की सडक बन्ने, थप बजेट प्राप्त हुने, पूर्वाधार विकास लगायतका थप योजना संचालन गर्न सकिने अपेक्षा ।
५. खेलको चरणबद्ध प्रक्रिया
चरण १: तयारी (१० मिनेट)

  • पात्रहरूलाई उनीहरूको भूमिका बुझाउने ।
  • उस्तै विचार भएका पात्रहरू (जस्तै: किसान र वातावरण अभियन्ता) लाई आपसमा सल्लाह गर्ने समय दिने ।

चरण २: बैठक (२५ मिनेट)

  • गाउँपालिका अध्यक्षले बैठकको अध्यक्षता गर्दै गाउँमा एक सिमेन्ट उद्योग खोल्ने प्रस्ताव आएको बारेमा जानकारी गराउछन् र सबै सहभागीहरुलाई पालैपालो आफ्ना कुरा राख्न समय दिन्छन् ।
  • वातावरण अभियन्ताले चर्को स्वरमा यसको विरोध गर्छन् । साथै यसवाट पानीको मुहान सुक्ने, खेती हुने ठाँउमा उद्योग खोल्दा किसानलाई मर्का पर्ने, वातावरण बिग्रने जस्ता कुरा राख्दै अन्य सहभागीहरुलाई पनि आफ्नो पक्षमा लाग्न प्रेरित गर्ने प्रयास गर्छन् ।
  • बेरोजगार युवाले किसानलाई केही समस्या पर्ने कुरा राखे पनि अन्तिममा उद्योग संचालन भएमा रोजागरी पाईने आशाले उद्योग खोल्न दिनु पर्ने कुरा राख्छन् ।
  • कृषकहरुले आफ्नो खेती विग्रने, आम्दानी घट्ने, पानी मुहान सक्ने जस्ता चिन्ता व्यक्त गर्दै उद्योगको विरोध गर्छन् ।
  • वडा अध्यक्षले सबै सहभागीहरुको कुरालाई सकारात्मक ढंगले प्रस्तुत गर्दै भौतिक पूर्वाधार तथा आर्थिक क्रियाकलाप बृद्धि हुने हुँदा उद्योग खोल्न दिनु पर्ने पक्षमा कुरा राख्छन् ।
  • उद्योगीले सबै सहभागीले उठाउनु भएको चासो र चिन्ताको उचित कदर गर्दै यस बारेमा आफ्नो प्रतिवद्धता व्यक्त गर्छन् र उद्योग खोल्न दिन आग्रह गर्छन् ।

नियम: सबैले तर्कसहित बोल्नुपर्नेछ, कसैलाई व्यक्तिगत आक्षेप लगाउन पाइने छैन। चरण ३: निर्णय प्रक्रिया (१० मिनेट)

  • सबैको कुरा सुनिसकेपछि गाउँपालिका अध्यक्षले एउटा निर्णय सुनाउनै पर्ने अवस्था छ । अन्तिम निर्णय के होला भन्ने कुरा गाउँपालिका अध्यक्षको चाहना, क्षमता, प्रतिवद्धता र सहभागीहरुको संयमतामा निर्भर गर्दछ ।
  • अपेक्षा गरौं वातावरणीय प्रभाव मूल्यांकन (EIA) कडाइका साथ पालना गर्ने, काटिएका रूखको सट्टा चार गुणा बढी वृक्षारोपण गर्ने, पानीको मुहान संरक्षणको जिम्मा उद्योगले लिने, आदि पक्षहरुलाई प्रष्ट पार्दै सबै सहभागीहरुको चासो र चिन्तालाई मध्यनजर गरी उद्योग संचालन गर्ने वातावरण मिलाउन गाउँपालिका अध्यक्ष सफल हुनुहुनेछ र यस बैठकवाट सोही अनुरुपको निर्णय हुनेछ ।
६. समीक्षा र निष्कर्ष (१० मिनेट)
खेल सकिएपछि सहजकर्ताले निम्न प्रश्नहरू सोध्नुपर्छ:

  • तपाईंलाई आफ्नो भूमिका निर्वाह गर्दा कस्तो अनुभव भयो?
  • के विकास र वातावरण संरक्षण लाई सँगै लैजान सम्भव छ? वातावरणमैत्री विकास गर्न सकिन्छ?
  • स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्छ?
७. आवश्यक सामग्रीहरू
  • पात्रको नाम लेखिएको कार्ड ।
  • अध्यक्षका लागि एउटा अलग्गै टेबल र गिलास मा पिउने पानी ।
  • नोट प्याड, पेन, आदि ।