१. प्रचार–प्रसार श्रव्य-दृष्य, छापा, सामाजिक सञ्जाल एवम् अन्य उपयुक्त सञ्चार माध्यमबाट सन्देशमूलक सूचना प्रचार–प्रसार गरी घर–परिवारलाई आफ्नो घर तथा टोल बस्तीलाई आफ्नो टोल बस्ती एवम् समग्र गाउँ तथा नगरपालिकालाई वातावरणमैत्री बनाउन प्रेरित गरिनेछ। यस्ता सूचनामूलक सामग्री सरल भाषामा तयार गरी स्थानीय समुदायसम्म पुर्याईनेछ। साथै सरोकारवालाहरूलाई यस अवधारणाको बारेमा अभिमुखीकरण गरिनेछ। यस्तो अभिमुखीकरण हरेक समुदाय, विद्यालय तथा गाउँमा समेत सञ्चालन गरिनेछ। २. आधार तथ्याङ्क सङ्कलन, विश्लेषण तथा अद्यावधिक स्थानीय तहले यस प्रारूप बमोजिमका सूचकहरुको अवस्थाको विवरण सङ्कलन गर्न आवश्यकता अनुसार फारामहरूको विकास गर्नु पर्नेछ। सङ्कलन भएका विवरणका आधारमा सूचकहरुको अवस्था नियमित रुपमा अद्यावधिक गरी सो सम्बन्धी वार्षिक उपलब्धि प्रतिवेदन समेत तयार गर्नु पर्नेछ। यसरी तयार भएको प्रतिवेदन सबैको जानकारीका लागि कार्यालयको वेबसाइट मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउनु पर्नेछ। 3. संस्थागत व्यवस्था यस प्रारूप बमोजिम जिल्ला तहमा वातावरणमैत्री स्थानीय शासन जिल्ला समन्वय समिति, नगरपालिकाहरूमा वातावरणमैत्री स्थानीय शासन नगर समन्वय समिति, गाउँपालिकाहरूमा वातावरणमैत्री स्थानीय शासन गाउँ समन्वय समिति र गाउँ तथा नगरका वडामा वातावरणमैत्री स्थानीय शासन वडा समन्वय समिति गठन गर्नु पर्नेछ। विभिन्न तहमा क्रियाशील रहेका वातावरण संरक्षण, फोहरमैला व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन तथा विपद् व्यवस्थापनसँग सम्बन्धित क्षेत्रमा काम गर्ने सबै सङ्घसंस्थालाई यस प्रारूप बमोजिमका सूचकहरू प्राप्त गर्नेगरी परिचालन र समन्वय गर्ने कार्य सम्बन्धित वातावरणमैत्री स्थानीय शासन वडा, गाउँ/नगर तथा जिल्ला समन्वय समितिले गर्नेछन्। ४. क्षमता विकास (अ) टोल-समुदाय तह
- गाउँपालिका/नगरपालिका भित्र कार्यरत सामाजिक परिचालकहरुको कार्य जिम्मेवारी र भूमिका थप गरी वातावरणमैत्री स्थानीय शासनको प्रारुप सम्बन्धी विषयमा समुदायको क्षमता अभिवृद्धिका लागि परिचालन गर्नु पर्नेछ।
- टोल विकास संस्था/टोल सुधार समितिका सदस्यहरू, महिला स्वास्थ्य स्वयंसेविका, आमा समुह, युवा क्लब तथा वन उपभोक्ता समूह जस्ता सामुदायिक संस्थाहरुलाई वातावरणमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखिकरण तथा क्षमता विकासका लागि तालिमहरु सञ्चालन गर्नु पर्नेछ।
- समुदाय/टोल एवम् वडाहरूमा वातावरणमैत्री स्थानीय शासनबारे प्रचार/प्रसार र अन्य जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्नेछ।
- अगुवा कृषकहरूमार्फत प्राङ्गारिक खेती, उन्नत खेती, खेतबारी संरक्षण तथा रासायनिक विषादीको नकारात्मक असर बारे कृषकहरुलाई प्रदर्शनी/चेतना जागरण र सीप प्रदान गर्ने/गराउने जस्ता क्रियाकलाप सञ्चालन गर्नु पर्नेछ।
क्षमता विकास सम्बन्धी उपरोक्त क्रियाकलापहरु वातावरणमैत्री स्थानीय शासन वडा समन्वय समिति मार्फत सञ्चालन गर्न उपयुक्त हुन्छ। (आ) वडा तह वडा भित्रका महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, युवा क्लब, विद्यालयका सम्बन्धित विषय शिक्षक तथा सामाजिक परिचालकहरूलार्ई वातावरणमैत्री स्थानीय शासनको अवधारणा, घर-परिवार तथा वडा तहका सूचकहरू, सूचक हासिल गर्ने विधि र प्रक्रिया, मापन गर्ने विधि र प्रक्रियाबारे सम्बन्धित वडा वा गाउँपालिका/नगरपालिकाले आफै वा वडाको अगुवाइमा अभिमुखीकरण गर्नु पर्नेछ। (इ) गाउँपालिका/नगरपालिका तह
- गाउँपालिका/नगरपालिकामा वातावरण तथा विपद् व्यवस्थापन विषय हेर्ने शाखा, महाशाखाले यस प्रारुपको कार्यान्वयन जिम्मेवारी निर्वाह गर्नु पर्नेछ। छुट्टै शाखा वा एकाई नभएको अवस्थामा विद्यमान संरचनामा रहेको सरसफाई वा फोहरमैला व्यवस्थापन शाखा वा अन्य उपयुक्त शाखाको कार्य विवरण अद्यावधिक गराई वातावरणमैत्री स्थानीय शासनसम्बन्धी कार्यहरूको जिम्मेवारीसमेत थप गर्नु पर्नेछ।
- वातावरणमैत्री स्थानीय शासन क्षेत्रमा काम गर्ने कर्मचारीहरूलार्ई वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन, विपद् व्यवस्थापन, वातावरणीय अध्ययन प्रतिवेदन तथा भवन निर्माण संहिता जस्ता विषयमा समेत क्षमता विकास तालिम प्रदान गर्नु पर्नेछ।
- गाउँपालिका/नगरपालिकाका वडा एवम् टोलहरू, सामुदायिक संस्था तथा टोल विकास संस्थाहरुको लागि क्षमता विकासका कार्यहरू सञ्चालन गर्नु पर्नेछ।
|