जुम्ला जिल्लावासीको लागि कृषि नै जीविकोपार्जनको मुख्य आधार हो। यहाँ परम्परागत रूपमा मार्सी धान, स्याउ, ओखर, आलु, सिमी, कोदो लगायतका बाली उत्पादन हुँदै आएको छ। खास गरी यहाको उच्च पहाडी क्षेत्र (करिब २३००-३००० मिटर उचाईमा) मा उत्पादन हुने स्याउ नेपालभर प्रसिद्ध छ । तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण, अनियमित वर्षा, लामो खडेरी, न्यून तथा असामयिक हिमपात तथा तापक्रम बृद्धिले गर्दा स्याउ लगायत अन्य कृषि उत्पादनमा प्रतिकूल असर परिरहेको छ । यो चुनौतीको सामना गर्न स्थानीय सरकार, कृषक तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम को उत्थानशील कृषि तथा खाद्य पद्धतिका लागि नवीकरणीय ऊर्जा (Renewable Energy for Resilient Agri-Food Systems/RERAS) परियोजना लगायत अन्य विकास साझेदारहरूको सहकार्यमा जैविक तथा जलवायु उत्थानशील कृषि अभ्यास सुरु गरियो, जसले आज सफलताको नयाँ कथा लेखिरहेको छ।



जुम्ला जिल्लाको सदरमुकाम समेत रहेको चन्दननाथ नगरपालिकाले सुरु गरेको जलवायु-स्मार्ट स्याउ खेती प्रवर्द्धन कार्यक्रम एक सफल नमुना हो।यस नगरपालिकाले वि. सं. २०७८ मा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी स्थानीय ऐन नै जारी गर्यो । यो संगै जलवायु अनुकूलन योजना र कार्यक्रम तर्जुमा गरी कार्यान्वयन प्रारम्भ गर्यो । नगर प्रमुख श्री राजु सिंह कठायत भन्नु हुन्छ- असामयिक हिमपात, रोग तथा किराको प्रकोप, असमयमा फूल फुल्ने र फल झर्ने जस्ता समस्याका कारण स्याउको उत्पादन कम हुँदा स्थानीय कृषकहरुको आम्दानी घटेको गुनासो आयो। यस समस्याको समाधान कसरी होला भनी छलफल गर्दा जलवायु उत्थानशील कृषि पद्धति नै यसको उपयुक्त समाधान हो भन्ने निष्कर्षका साथ नगरपालिकाले आफ्नो प्रयास जारी राख्यो । यस प्रयासमा गोठेमल, कम्पोस्ट, गड्यौला कम्पोस्टको प्रयोग, मल्चिङ (माटो ढाक्ने प्रविधि), जैविक झोल मल र जीवाणु मलको प्रयोग जस्ता अभ्यासहरु गरिएका छन् ।उहाँका अनुसार नगरपालिकाले कृषकहरुलाई जलवायु उत्थानशील उन्नत जातका स्याउ बिरुवा खरिद, सिँचाइ सुविधा बिस्तार जस्ता कार्यमा छुट तथा अनुदानको व्यवस्था गरेको छ।साथै कृषकहरुलाई प्राविधिक सहयोग समेत विस्तार गरिएको छ ।नगरपालिकाका कृषि विकास अधिकृत सरद पोख्रेलका अनुसार हाल तरकारी खेति तथा स्याउ बगैंचामा मल्चिङ प्रविधिको प्रयोग गरी माटोमा चिस्यान संरक्षण गर्ने, कृषक पाठशाला (Farmer Field School) मार्फत किसानहरुले आफ्नै खेतवारीमा काटछाँट (Training/Pruning), रोग किरा व्यवस्थापन, डिजिटल अलर्टहरू मार्फत बगैंचा व्यवस्थापन, सिँचाइ, परागसेचन र कीट नियन्त्रणमा व्यावहारिक तालिम प्राप्त गर्ने गर्दछन् ।
कृषकका अलावा नगरपालिकाका कृषि प्राविधिकहरूलाई डेटा विश्लेषण, कृषि सल्लाहकार सेवा, जलबायु उत्थानशील कृषि र दिगो कृषि अभ्यासहरूमा तालिम दिने गरिएको छ । किसान समूह तथा सहकारी मार्फत सामूहिक उत्पादन, महिला कृषक समूहलाई लक्षित अनुदान जस्ता कार्यक्रम पनि संचालनमा छन् । साथै मूल्य श्रृंखला (Value Chain) विकास का लागि स्थानीय सङ्कलन केन्द्र स्थापना, कोल्ड स्टोर तथा ग्रेडिङ-प्याकेजिङ तालिम, “जुम्ला स्याउ” ब्रान्डिङको प्रवर्द्धन जस्ता कार्यक्रमहरु संचालन गरिएको छ । यसले समुदाय भित्र नवप्रवर्तन र ज्ञान रहन्छ भन्ने कुरा सुनिश्चित गर्दछ, जसले दीर्घकालीन स्वामित्व र दिगोपनलाई बढावा दिन्छ। यस पद्धतिको प्रयोगबाट विगत तीन वर्षमा २०० भन्दा बढ़ी कृषक परिवार लाभान्वित भएका छन् । लाभान्वित कृषकहरु मध्ये करिव ५० प्रतिशतले सिंचाई सुविधा प्राप्त गरेका छन् । प्रतिहेक्टर स्याउ उत्पादनमा वार्षिक औषत १०% वृद्धि भएको छ । गुणस्तरमा सुधार भएको कारण स्याउको बजार मूल्य वृद्धि भएको छ । युवा किसानहरू कृषि उद्यमतर्फ आकर्षित भएका छन् । स्थानीय कृषक श्री भैरव धरला भन्नुहुन्छ-यो पद्धति सफल हुदै गएमा स्याउ खेतीबाटै जुम्लाका कृषकहरुको जीवनस्तरमा सुधार आउनेछ ।
जुम्लामा जलवायु उत्थानशील जैविक खेतीले कृषि प्रणालीलाई मात्र सुदृढ बनाएको छैन, यसले समुदायमा आत्मनिर्भरता, सशक्तीकरण र दिगोपनको आधार निर्माण गरेको छ । चन्दननाथ नगरपालिकाले जलवायु परिवर्तनका चुनौतीबीच स्याउ खेतीलाई दिगो र प्रतिस्पर्धी बनाउन सफल जलवायु-स्मार्ट मोडेल विकास गरेको छ। नेपालले जलवायु परिवर्तन, भूमि क्षयीकरण र खाद्य असुरक्षाबाट बढ्दो दबाबको सामना गरिरहेको बेला यस्तो नवप्रवर्तन निकै महत्त्वपूर्ण छ। परम्परागत ज्ञानलाई आधुनिक प्रविधि र उपकरणहरूसँग मिसाएर जुम्लाका किसानहरूले राम्रो स्याउ मात्र उब्जाइरहेका छैनन्, तिनीहरूले जलवायु उत्थानशील कृषिमा आफ्नो भविष्य देखिरहेका छन्।

नोट: चन्दनाथ नगरपालिकाका कृषि विकास अधिकृत श्री सरद पोख्रेलसंग छलफल गरी निज मार्फत प्राप्त सुचनाको आधारमा तयार गरिएको यस सफल अभ्यास २०८३ वैशाख २४ देखि २८ सम्म वीरेन्द्रनगर, सुर्खेतमा सो नगरपालिकाका कृषि प्राविधिक श्री दिपक आचार्यले प्रस्तुती गरी नमूना परिक्षण भएको थियो । तत् पश्चात २०८३ जेठ १४ देखि १८ सम्म धुलिखेलमा भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रस्तुत गरी प्रमाणीकरण भएको थियो ।