काठमाडौं उपत्यकाको पूर्वी भेगमा अवस्थित शंखरापुर नगरपालिका परम्परागतरूपमा धान, आलु, तरकारी तथा मौसमी बाली उत्पादनमा परिचित क्षेत्र हो। तर पछिल्ला वर्षहरूमा असमय वर्षा, लामो खडेरी, तापक्रम वृद्धि र कीरा एवं रोगको प्रकोप जस्ता जलवायु परिवर्तनका असरले कृषिमा ठूलो चुनौती सिर्जना गर्यो। रासायनिक मल तथा विषादीमा निर्भरता बढ्दा उत्पादन लागत बृद्धि र माटोको उर्वराशक्ति घट्ने समस्या देखियो। वर्षेनी धान तथा तरकारी उत्पादनमा १५-२०% सम्म उतारचढाव हुने, रासायनिक मलको अभाव भैरहने र माटोको उर्वराशक्ति घट्दै जाने प्रक्रिया झन्, झन् वढ्दै गयो । यसले गर्दा कृषकहरुको आम्दानी कम हुँदै गयो । अर्को तर्फ स्थानीय बजारमा सुरक्षित तथा विषादीरहित खाद्य वस्तुको माग बढ्दै गयो । यसै बिच स्थानीय कृषकहरुवाट जलवायु अनुकूलित हुने प्राङ्गारिक (Organic) खेती गर्ने माग आयो । यस विषयमा नगरपालिकाको कृषि प्राविधिक सहितको टोलीले स्थलगत अध्ययन गर्दा यो पद्धति उपयोगी हुने देखी नगरपालिकाले यसको प्रवर्धनमा सहयोग गर्ने नीति लियो ।यसरी नगरपालिकाले जलवायु अनुकूलनलाई प्राथमिकता दिँदै प्राङ्गारिक तथा जलवायु-स्मार्ट कृषि अभ्यासलाई नीति, कार्यक्रम र बजेटमा समेटेर कार्यान्वयन सुरु गरेको कुरा उप-प्रमुख श्री समिता श्रेष्ठ बताउनु हुन्छ ।
यस शंखरापुर नगरपालिकाले फोहरमैला व्यवस्थापन तथा वातावरणीय सुशासन कायम गर्दै Circular Economy को क्षेत्रमा काम गर्न सहयोगी संस्था, छिमेकी नगरपालिकाहरु तथा संघ, संस्थासंगको समन्वयमा कार्यक्रम संचालन गर्न वि.सं. २०८२ मंसिर २८ गते फोहरमैला व्यवस्थापन तथा चक्रीय अर्थ व्यवस्था समन्वय समिति गठन गरी कार्य प्रारम्भ गरेको छ । यस्तै कृषि पर्यावरणमैत्री प्रणाली रणनीति, २०८२ स्वीकृतिको प्रक्रियामा छ । प्राङ्गारिक खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन र जलवायु अनुकूलन योजना तर्जुमा गरी यससँग कृषि कार्यक्रमको एकीकरण तथा वातावरणमैत्री स्थानीय शासनको मापदण्डसँग जोडिएको कृषि कार्यक्रम अगाडि बढाउने प्रयास गरिएको छ ।


किसानहरूलाई जैविक मल (कम्पोस्ट एवं झोल मल) उत्पादन तालिम प्रदान, टनेल खेती, मल्चिङ एवं वर्षाको पानी संकलन प्रविधिमा सहयोग, स्थानीय जातका बाली तथा बीउको संरक्षण तथा Integrated Pest Management (IPM) सम्बन्धी तालिम प्रदान गरियो । शंखरापुर नगरपालिका, कागेश्वरी मनहरा नगरपालिका र चाँगुनारायण नगरपालिकासंगको सहकार्यमा एक निजी कम्पनी (Blue Waste to Value) ले शंखरापुर नगरपालिकामा फोहोरमैला व्यवस्थापन र यसको दिगो समाधानका लागि काम गरिरहेको छ । यसले शंखरापुर नगरपालिकाका विभिन्न वडाहरू (मुख्यतया ६ नम्बर र ७ नम्बर वडा) बाट फोहोर संकलन गरी त्यसलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्दै आएको छ । साँखुमा रहेको यस केन्द्रले संकलित फोहोरलाई छुट्याउने, प्रशोधन गर्ने र पुन: प्रयोगयोग्य सामग्री बनाउने काम गर्दछ। यो संस्थाले शंखरापुर, कागेश्वरी मनोहरा र चाँगुनारायण नगरपालिकाबीच साझा फोहोरमैला व्यवस्थापन नीति बनाउन र स्रोतको परिचालन गर्न सहकार्य गरिरहेको छ। यस प्रक्रियामा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को समेत सहयोग रहेको छ । यस्तै यहाँ स्थानीयस्तरमा पाइने विभिन्न प्रकारका वनस्पतिहरुको उपयोग गरी जिवामृत (झोल मल) उत्पादन गरिएको छ । यो एक प्रकारको प्राङ्गारिक मल हो । यसको प्रयोगले कृषि उत्पादनमा राम्रो नतिजा दिएको छ ।
नगरपालिकाले ५०% सम्म अनुदानमा टनेल निर्माण, बीउ तथा उपकरण प्रदान, कृषक समूह र सहकारी मार्फत सामूहिक खेती, महिला तथा युवालाई लक्षित उद्यमशीलता कार्यक्रम जस्ता कार्यलाई प्राथमिकता दिएको कुरा विसम्वरा महिला कृषक समूहकी सदस्य तथा अगुवा कृषक श्री जुन्त्ता वाइवा बताउनु हुन्छ ।
असमय वर्षा र चिसोबाट बाली जोगाउन जलवायु-स्मार्ट टनेल खेती, स्थानीय ब्रान्ड विकास, फार्म-टु-मार्केट लिंक अन्तर्गत काठमाडौंका बजारमा प्रत्यक्ष आपूर्ति, विद्यालयस्तरमा “किचन गार्डेन” अभियान जस्ता नयाँ अभ्यासहरु शंखरापुर नगरपालिकाले सुरुवात गरेको छ ।
यस नगरपालिकामा विगत ३ वर्षमा १५० भन्दा बढी कृषक परिवार प्राङ्गारिक खेतीमा आवद्ध भएका छन् । यसवाट तरकारी उत्पादनमा २५% सम्म बृद्धि भएको छ । रासायनिक मल तथा विषादी प्रयोगमा उल्लेखनीय कमी आएको छ । किसानको आम्दानीमा औसत २०-३०% बृद्धि भएको छ । जैविक पदार्थ बृद्धि भई माटोको गुणस्तरमा सुधार आएको छ । महिला नेतृत्वमा १० भन्दा बढी कृषक समूह सक्रिय रहेका छन् ।
यस नगरपालिकामा जलवायु जोखिमप्रति समुदायको उत्थानशीलता बढेको छ । स्वस्थकर तथा सुरक्षित खाद्य आपूर्ति भएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना भएको छ र वातावरणीय संरक्षण (माटो, पानी र जैविक विविधता) मा उल्लेख्य सुधार आएको कुरा कृषि विकास शाखा प्रमुख श्री सीता देवी गुरागाईं बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ: प्राङ्गारिक खेतीको एक सफल उदाहरण स्कुस उत्पादन हो । वडा नं. ४ र ८ का महिला समूहहरुले स्कुस खेतीवाट राम्रो आम्दानी गरेका छन् । उहाँका अनुसार ताजा स्कुस विक्री नहुने अवस्थामा यसलाई चाना, पाउडर, मस्यौरा वनाई प्रशोधित खाद्य पदार्थ उत्पादन गर्न प्रारम्भ गरिएको छ ।

कृषि सेवा केन्द्र प्रमुख अर्जुन चौलागागाईंका अनुसार नगरपालिकाको वडा नम्वर १ को नाङ्लेभारे क्षेत्रको बाझोँ जमिनमा उखु खेती गरी कृषकहरुले प्रशस्त आम्दानी गरेका छन् । यहाँका ३८ जना कृषकले १५० रोपनी बाझोँ जग्गामा उखु खेती गरी एक वटा कृषकले वार्षिक ७ लाख रुपिया सम्मको सख्खर बिक्री गरेका छन् । यसको विस्तारमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले उखु पेल्ने मेसिन पनि उपलव्ध गराएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री चुरामणि पन्थी भन्नुहुन्छ: यो कार्यक्रमको दिगोपनको लागि स्थानीय उत्पादनको ब्रान्डिङ र लेभलिङ प्रविधिको विकास गर्ने, कृषि सहकारी मार्फत निरन्तर वित्तीय सेवा प्रवाह सुनिस्चित गर्ने र विद्यालय एवं समुदायमा सचेतना विस्तार गर्दै जलवायु अनुकूलन कोषसँग कार्यक्रमको एकीकरण गर्न आवश्यक भएको छ ।
शंखरापुर नगरपालिकाले गरेको यो नमुना कृषि कार्यक्रमबाट अन्य स्थानीय तहले सिक्न सक्ने धेरै विषयहरु छन् । शंखरापुरको अनुभवले नीतिगत निरन्तरता र बजेटको सुनिश्चितता बिना कार्यक्रम दिगो हुँदैन भन्ने देखाएको छ । किसानलाई नियमित स्थलगत प्राबिधिक सहयोग आवश्यक पर्दछ । बजार सुनिश्चित भएमा मात्र किसानहरू प्राङ्गारिक खेतीतर्फ आकर्षित हुन्छन्।महिला तथा युवा सहभागिता यस कार्यक्रम सफलताको प्रमुख आधार हो ।
नोट: शंखरापुर नगरपालिकाका उप-प्रमुख श्री समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत श्री चुरामणि पन्थी, कृषि विकास शाखा प्रमुख श्री सीता देवी गुरागाईं सहितका पदाधिकारी तथा कर्मचारीसंग छलफल गरी प्राप्त सूचनाको आधारमा तयार गरिएको यस सफल अभ्यास २०८३ वैशाख २४ देखि २८ सम्म वीरेन्द्रनगर, सुर्खेतमा नमुना परिक्षण गरी २०८३ जेठ १४ देखि १८ सम्म धुलिखेलमा भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सो नगरपालिकाकी वरिष्ठ शाखा अधिकृत श्री सुभद्रा पुडासैनीले प्रस्तुत गरी प्रमाणीकरण भएको थियो ।