काठमाडौं उपत्यकाको प्राचीन नगर ललितपुर उपमहानगरपालिका २०७३ सालदेखि महानगर बनेको हो । तीव्र बसाईसराई, अव्यवस्थित बसोबास र सार्वजनिक क्षेत्रमा भएको अतिक्रमणले काठमाडौं उपत्यकाको सौन्दर्य, खुला क्षेत्र एवं हरियालीमा गम्भीर असर परिरहेको सबैले महशुस गरेको विषय हो । जम्मा ३६ वर्ग किलोमीटर क्षेत्रफल ओगटेको ललितपुर महानगरपालिकामा २०७८ साल जनगणना अनुसार प्रति वर्गकिलोमीटर जनघनत्व ८,१४२ रहेको छ । पर्यटकीय महत्व बोकेको यस ऐतिहासिक नगरीमा पर्यटकहरुको आकर्षण बढाउन तथा नगरलाई स्वच्छ र सुन्दर बनाई महानगरबासीको स्वच्छ वातावरणमा वाच्न पाउने मौलिक हकको प्रवर्द्धन गर्न आर्थिक वर्ष २०७९/८० देखि अभियान कै रुपमा हरियाली प्रवर्द्धन तथा सहरी सौन्दर्यीकरण कार्यक्रमलाई अभियानको रुपमा अघि बढाइएको छ ।
हरियाली प्रवर्द्धन तथा सहरी सौन्दर्यीकरण कार्यक्रम अन्तर्गत हरियाली पार्क निर्माण, सडक किनारमा वृक्षारोपण, पोखरी संरक्षण र सौन्दर्यीकरण, सार्वजनिक जग्गा संरक्षण, सडक डिभाइडरमा पुष्प रोपण, पारदर्शी हरित बार (Transparent Green Fence), स्मार्ट स्ट्रिट लाइट, स्मार्ट ट्राफिक लाइट, साइकल लेन, चक्रपथ हरियाली प्रवर्द्धन तथा संरक्षण जस्ता कार्यहरु रहेका छन् ।
यो अभियानलाई प्रभावकारी र दिगो रुपमा संचालन गर्न स्थानीय समुदाय (टोल विकास समिति, आमा समूह, युवा समूह, सामुदायिक संघ, संस्था) को जिम्मेवारी सहित सहभागिता, वित्तीय स्रोतको लागि निजी क्षेत्र संग सहकार्य (CSR), तहगत सरकार तथा विकास साझेदारहरुसंग समन्वय एवं सहकार्य, निरन्तर अनुगमन, समीक्षा र सुधार जस्ता रणनीति अङ्गीकार गरिएको र नीतिगत निरन्तरता रहेको कुरा प्रमुख प्रशासकीय अधिकृत श्री रेखा दास श्रेष्ठ बताउनुहुन्छ ।
ललितपुरका स्थानीय बासिन्दाहरु अहिले ललितपुरको सहरी क्षेत्रमा हरियाली बढेको, सहरी सौन्दर्य गर्व गर्न लायक भएको, हरियालीयुक्त पार्कहरु निर्माण गरेको, अतिक्रमित पोखरीहरुको अतिक्रमण हटाई सुन्दर वनाइएको, सार्वजनिक जग्गा संरक्षण गरी उक्त जग्गामा होर्डिंग बोर्ड राखी पारदर्शी बनाइएको विषयलाई महानगरपालिकाले गरेको प्रसंसनीय सफल कार्यका रुपमा उल्लेख गर्दछन्। पुल्चोकका स्थानीय बासिन्दाहरु भन्दछन्-अहिले धेरै राम्रो छ, बाटोमा रुख छन्, फूल रोपिएको छ, धुलो कम छ, राम्रो भयो नि ।
यो अभियानले सफलता पाउनुमा राजनीतिक नेतृत्वको स्पष्ट दृष्टिकोण सहितको प्रतिबद्धता, नीति, कार्यक्रम र बजेटबीचको तालमेल, समुदायको स्वामित्व सहितको सहभागिता, निजी क्षेत्र र विकास साझेदारहरुसंग को सहकार्य र समन्वय, स्पष्ट कार्ययोजना सहितको कार्य जिम्मेवारी जस्ता कारणहरु महत्वपूर्ण रहेका छन् ।



नोट: ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री रेखा दास श्रेष्ठ संग छलफल गरी निज मार्फत प्राप्त सूचनाको आधारमा तयार गरिएको यस सफल अभ्यास २०८३ वैशाख २४ देखि २८ सम्म वीरेन्द्रनगर, सुर्खेतमा नमुना परिक्षण गरी २०८३ जेठ १४ देखि १८ सम्म धुलिखेलमा भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सो महानगरपालिकाकी सामुदायिक विकास शाखा प्रमुख श्री सरिता महर्जनले प्रस्तुत गरी प्रमाणीकरण भएको थियो ।