अहिले स्मार्ट सिटीको रुपमा आफुलाई अगाडि बढाई रहेको स्याङ्गजा जिल्लाको वालिङ नगरपालिकाले करिब एक दशक अघिसम्म फोहरमैला व्यवस्थापनको नाममा केवल समय समयमा बजार क्षेत्रको सडक बढार्ने र संकलित फोहरलाई आँधिखोलाको किनारमा जथाभावी फ्याँक्ने गर्थ्यो । सोही  नगरपालिकाले  सरसफाईमा गरेको तिब्र र महत्वपूर्ण प्रयासको कारण २०७४ सालमा तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट गरिएको मूल्यांकनमा देशभरका नगरपालिकाहरू मध्ये  सर्बोत्कृष्ट  सफा नगरको रुपमा पुरष्कृत हुन सफल भयो । त्यसपछि पनि कुनै न कुनै सम्मान पाइरहेको  छ । २०७५ सालमा नेपाल नगरपालिका संघले गरेको मूल्यांकनमा यो नगरपालिका वातावरण व्यवस्थापन विधामा पुरष्कृत भयो भने हालसालै पनि एशिया प्यासिफिक स्यानिटेसन एक्सिलेन्स  अवार्डबाट सम्मानित भएको छ ।

सफलताको कारण के रहेछ त ?

फोहरमैला व्यवस्थापन ऐन, २०६८ ले फोहरलाई स्रोतमै वर्गीकरण गर्नुपर्ने भनी  गरेको व्यवस्था र वातावरणमैत्री स्थानीय शासन प्रारूप (EFLG Framework) ले फोहरमैला व्यवस्थापन र न्यूनीकरणका लागि फोहरमैलाको वर्गीकरण, वर्गीकृत फोहरको व्यवस्थापन, सचेतना अभियान र समुदाय परिचालन सम्बन्धमा सूचकको व्यवस्था सहित दिएको मार्गदर्शनको सही  कार्यान्वयन नै वालिङ नगरपालिकाको सफलताको राज रहेछ । कानून र EFLG Framework मा भएको व्यवस्थाको कार्या न्वयनले वालिङ नगरपालिकालाई देशकै सफा नगरको सम्मान दिलायो । उक्त ऐन र प्रारुपको कार्या न्वयन प्रभावकारी बनाउन नगरपालिकाले गरेका  कामहरुको यहाँ चर्चा  गरिएको  छ ।

फोहरमैला व्यवस्थापन ऐनको अधीनमा रही कार्यविधि र मापदण्ड बनाई फोहरलाई स्रोतमै वर्गीकरण गर्नुपर्ने कानूनी व्यवस्थाको कडाईका साथ पालना गरिएको छ । यस्तै फोहरमैला व्यवस्थापनलाई उच्च प्राथमिकता दिई सरसफाई तथा वातावरण शाखाको स्थापना र सुदृढीकरण, आवश्यक वित्तीय स्रोतको व्यवस्थापन, जनचेतनाको लागि विद्यालय, टोल विकास समिति तथा स्थानीय संघ संस्थालाई निरन्तर सचेतना कार्यक्रम सहित व्यवहार परिवर्तनको लागि व्यापक अभियान सञ्चालन गरिएको छ ।

कुहिने फोहरबाट कम्पोस्ट मल उत्पादन गरी कृषकलाई वितरण गर्ने गरिएको छ भने फोहर संकलनलाइ सम्पूर्ण वडामा विस्तार गर्दै जैविक फोहर र अजैविक फोहर संकलनको दिन, समय र सवारी साधन समेत निश्चित गरिएको छ ।

नगरपालिकाले फोहर फाल्ने ”डम्पिङ साइट” लाई ”सरसफाई केन्द्र” र पार्कमा रुपान्तरण गर्दै उक्त स्थानमा मानिसहरु घुम्न र पिकनिक जान जाने वातावरण बनाई फोहर व्यवस्थापन स्थल प्रतिको मानिसको धारणामा नै परिवर्तन ल्याउन सफल भएको छ ।

यस नगरपालिकाले सरसफाई शुल्क लगाएर फोहरमैला व्यवस्थापनलाई दिगो मात्रै बनाएन बरु वर्गीकृत फोहर बक्री गरेर वर्षमा २५/३० लाख रुपैयाँ आम्दानी समेत गर्न थाल्यो ।

यस नगरपालिकाको अनुभवमा फोहरको सही व्यवस्थापन गर्ने हो भने यो समस्या होइन, यो त नगरको दिगो आय स्रोत पनि हो । त्यति मात्रै होइन विद्यमान कानूनी व्यवस्था अनुसार स्थानीय तहको एकलौटी अधिकार र कर्तब्य हो फोहरमैला व्यवस्थापन ।

प्राप्त सफलतालाई दिगोपन दिन निरन्तर लागिरहेको भन्दै नगरपालिकाले नीतिगत प्राथमिकता र निरन्तरता, आवश्यक बजेट विनियोजन, सरसफाई शुल्क, सचेतनाका कार्यक्रम, स्थानीय संघ सस्थाका साथै विकास साझेदारसंग साझेदारी एवं समन्यव तथा प्रभावकारी अनुगमन प्रणाली कायम गरेको कुरा नगर उप प्रमुख श्री कविता तिवारी बताउनुहुन्छ ।यस सफलताको प्रमुख कारण राजनीतिक नेतृत्वको प्रतिवद्धता नै हो । यस कार्यमा नगरपालिकाका सम्बन्धित कर्मचारीहरु र नगरवासी, टोल सुधार समिति लगायत सामुदायिक संघसंस्थाहरु को भूमिका प्रशंसनीय  रहेको छ।

वालिङ नगरपालिकाले गरेको कार्यबाट कुहिने खालकोफोहरमैला जैविक मलमा रुपान्तरण भै कृषि क्षेत्रमा पुनः प्रयोग भएको छ । कार्बन उत्सर्जन कम गर्न सघाउ पुगेको छ । अजैविक फोहरबाट आय समेत भएको छ भने ल्याण्डफिल साइट जाने फोहरको मात्रा करिब ४० प्रतिशतले घटेको छ । वातावरणीय सरसफाई र स्वच्छता अभिबृद्धि भएको छ ।

नोट: वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री जीवन ज्ञवालीसंग छलफल गरी निज मार्फत प्राप्त सूचनाको आधारमा तयार गरिएको यस सफल अभ्यास २०८३ वैशाख २४ देखि २८ सम्म वीरेन्द्रनगर, सुर्खेतमा भएको नमुना परिक्षण र २०८३ जेठ १४ देखि १८ सम्म धुलिखेलमा भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रस्तुत गरी प्रमाणीकरण भएको थियो ।