जुम्ला जिल्लावासी को लागि कृषि नै जीविकोपार्जनको मुख्य आधार हो। यहाँ परम्परागत रूपमा मार्सी धान, स्याउ, ओखर, आलु, सिमी, कोदो लगायतका बाली उत्पादन हुँदै आएको छ। खास गरी यहाको उच्च पहाडी क्षेत्र (करिब २३००-३००० मिटर उचाईमा) मा उत्पादन हुने स्याउ नेपालभर प्रसिद्ध छ । तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण,अनियमित वर्षा, लामो खडेरी, न्युन तथा असामयिक हिमपात तथा तापक्रम वृद्धिले गर्दा स्याउ लगायत अन्य कृषि उत्पादनमा प्रतिकूल असर परिरहेको छ । यो चुनौतीको सामना गर्न स्थानीय सरकार, कृषक तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम को उत्थानशील कृषि तथा खाद्य पद्धति का लागि नवीकरणीय ऊर्जा (Renewable Energy for Resilient Agri-Food Systems/RERAS) परियोजना लगायत अन्य विकास साझेदारहरूको सहकार्यमा जैविक तथा जलवायु उत्थानशील कृषि अभ्यास सुरु गरियो, जसले आज सफलताको नयाँ कथा लेखिरहेको छ।



चन्दननाथ नगरपालिकाले सुरु गरेको जलवायु-स्मार्ट स्याउ खेती प्रवर्द्धन कार्यक्रम एक सफल नमूना हो।यस नगरपालिकाले वि. सं. २०७८ मा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी स्थानीय ऐन नै जारि गर्यो । यो संगै जलवायु अनुकूलन योजना र कार्यक्रम तर्जुमा गरी कार्यान्वन प्रारम्भ गर्यो । नगर प्रमुख श्री राजु सिंह कठायत भन्नु हुन्छ असामयिक हिमपात, रोग तथा किराको प्रकोप, असमयमा फूल फुल्ने र फल झर्ने जस्ता समस्याका कारण स्याउको उत्पादन कम हुदा स्थानीय कृषकहरुको आम्दानी घटेको गुनासो आयो। यस समस्याको समाधान कसरी होला भनि छलफल गर्दा जलवायु उत्थानशील कृषि पद्धतिनै यसको उपयुक्त समाधान हो भन्ने निष्कर्षका साथ नगरपालिकाले आफ्नो प्रयास जारी राख्यो । यस प्रयासमा गोठेमल, कम्पोस्ट, गड्यौला कम्पोस्टको प्रयोग, मल्चिङ (माटो ढाक्ने प्रविधि), जैविक झोल मल र जीवाणु मलको प्रयोग जस्ता अभ्यासहरु गरिएका छन् । उहाँका अनुसार नगरपालिकाले कृषकहरु लाई जलवायु उत्थानशिल उन्नत जातका स्याउ बिरुवा खरिद, सिँचाइ सुबिधा बिस्तार जस्ता कार्यमा छुट तथा अनुदानको व्यवस्था गरेको छ।
साथै कृषकहरुलाई प्राविधिक सहयोग समेत विस्तार गरेको छ ।नगरपालिकाका कृषि विकास अधिकृत सरद पोख्रेलका अनुसार हाल तरकारी खेति तथा स्याउ बैगाँचामा मल्चिङ प्रविधिको प्रयोग गरी माटोमा चिस्यान संरक्षण गर्ने, कृषक पाठशाला (Farmer Field School) मार्फत किसानहरुले आफ्नै खेतवारीमा काटछाँट (Training/Pruning), रोग किरा व्यवस्थापन, डिजिटल अलर्टहरू मार्फत बगैंचा व्यवस्थापन, सिँचाइ, परागसेचन र कीट नियन्त्रणमा व्यावहारिक तालिम प्राप्त गर्छन्। कृषक का अलावा नगरपालिकाका कृषि प्राविधिकहरूलाई डेटा विश्लेषण, कृषि सल्लाहकार सेवाहरू, जलबायु उत्थानशील कृषि र दिगो कृषि भ्यासहरूमा तालिम दिने गरिएको छ ।
किसान समूह तथा सहकारी मार्फत सामूहिक उत्पादन, महिला कृषक समूहलाई लक्षित अनुदान जस्ता कार्यक्रम पनी संचालनमा छन् । साथै मूल्य श्रृंखला (Value Chain) विकास का लागि स्थानीय सङ्कलन केन्द्र स्थापना, कोल्ड स्टोर तथा ग्रेडिङ-प्याकेजिङ तालिम, “जुम्ला स्याउ” ब्रान्डिङ प्रवर्द्धन, जस्ता कार्यक्रम संचालन गरिएको छ । यसले समुदाय भित्र नवप्रवर्तन र ज्ञान रहन्छ भन्ने कुरा सुनिश्चित गर्दछ, जसले दीर्घकालीन स्वामित्व र दिगोपनलाई बढावा दिन्छ। यस पद्धतिको प्रयोग वाट विगत तिन वर्षमा २०० भन्दा बढ़ी कृषक परिवार लाभान्वित भएका छन् । लाभान्वित कृषक मध्ये करिव ५० प्रतिशत कृषकहरुले सिंचाई सुविधा प्राप्त गरेका छन् । प्रतिहेक्टर स्याउ उत्पादनमा औषत १०% वृद्धि भएको छ । स्याउको गुणस्तरमा सुधार भै बजार मूल्य वृद्धि भएको छ । युवा किसानहरू कृषि उद्यमतर्फ आकर्षित भएका छन् ।
जुम्लामा जलवायु उत्थानशील जैविक खेतीले कृषि प्रणालीलाई मात्र सुदृढ बनाएको छैन, यसले समुदायमा आत्मनिर्भरता, सशक्तीकरण र दिगोपनको आधार निर्माण गरेको छ।चन्दननाथ नगरपालिकाले जलवायु परिवर्तनका चुनौतीबीच स्याउ खेतीलाई दिगो र प्रतिस्पर्धी बनाउन सफल जलवायु-स्मार्ट मोडेल विकास गरेको छ। नेपालले जलवायु परिवर्तन, भूमि क्षयीकरण र खाद्य असुरक्षाबाट बढ्दो दबाबको सामना गरिरहेको बेला यस्तो नवप्रवर्तन निकै महत्त्वपूर्ण छ। परम्परागत ज्ञानलाई आधुनिक उपकरणहरूसँग मिसाएर जुम्लाका किसानहरूले राम्रो स्याउ मात्र उब्जाइरहेका छैनन्, तिनीहरूले जलवायु उत्थानशील कृषिमा आफ्नो भविष्य देखिरहेका छन्। स्थानीय कृषक श्री भैरव धरला भन्नुहुन्छ यो पद्धति सफल हुदै गएमा स्याउ खेती वाटै जुम्लाका कृषकहरुको जिवनस्तरमा सुधार आउनेछ ।
