पानी बिनाको जीवन कल्पना नै गर्न सकिदैन । मानव लगायत सबै जीव तथा वनस्पतिलाई चाहिने पानीको स्रोत या त जमिन बाहिर बरफको रुपमा रहेर क्रमसः पग्लने हिउँ (हिमालय/आइसल्याण्ड) हो या त जमिन मुनि संचित रहेको जल भण्डार नै हो । जमिनमुनि पानी तबसम्म रहन्छ जब हामीले निकालेको अनुपातमा पुनःभरण (Recharge) गर्छौं । पानी पुन:भरण गर्ने सबैभन्दा राम्रो, प्रभावकारी र परम्परागत तरिका भनेको ताल/पोखरीहरुको संरक्षण गर्नु हो । पानीको पुनःभरण, जैविक विविधता संरक्षण तथा सामाजिक क्रियाकलापको केन्द्र रहेका यस्ता महत्वपूर्ण ताल/पोखरीहरुको संरक्षणमा सुदूरपश्चिमको धनगढी उपमहानगरपालिकाले गरेको सफल प्रयासलाई यहाँ प्रस्तुत गरिएको छ ।

तीव्र एवं सहरीकरण, अव्यवस्थित जग्गा प्लटिंग, सार्बजनिक जग्गा अतिक्रमण, अव्यवस्थित फोहरमैला ब्यवस्थापन, जथाभावी ढल निकास जस्ता समस्याको कारण धनगढी उपमहानगरपालिका क्षेत्रका परम्परागत ताल/पोखरीहरु क्रमशः प्रदूषित हुँदै, सुक्दै र अतिक्रमित हुँदै गएका थिए । देश संघीय संरचनामा गएर स्थानीय तहको अधिकारमा जलस्रोतको संरक्षण गर्ने जिम्मेवारी आईपरेपछि धनगढी उपमहानगरपालिकाले अभियान कै रुपमा ताल/पोखरी संरक्षण कार्यलाई अगाडि बढाएको छ ।

संरक्षणको क्रममा सर्वप्रथम वडा वडामा सर्वेक्षण गरेर पोखरीहरुको पहिचान र जिआइएस नक्शांकन गर्ने काम गरी अतिक्रमित क्षेत्रको एकिन गर्ने काम गरिएको थियो । जसबाट संरक्षणका लागि कानूनी प्रक्रिया अघि बढाउन सहज हुनुको साथै दीर्घकालीन योजना बनाउन समेत आधार तयार भएको उपमहानगरपालिकाको बुझाई रहेको छ ।

पहिचान गरिएका पोखरीहरुको जग्गा सीमांकन. अवैध संरचना हटाउन पहल तथा प्रत्येक पोखरीमा जानकारीमूलक होर्डिंग बोर्ड राख्ने कामले भविष्यमा हुनसक्ने अतिक्रमण रोक्न सफल भएको छ । पहिचान भएका महत्वपूर्ण पोखरीहरुलाई पुनर्जीवन दिन माटो तथा झाडी सफाई, पानी संकलन प्रणाली सुधार, ढल एवं  पानी छुट्याउने संरचना निर्माण जस्ता काम गरी पानीको गुणस्तर सुधार, हिउँदमा जल संरक्षण तथा बर्षादमा डुबान समस्या न्यूनीकरण गर्न मद्दत पुगेको छ । पोखरी किनारमा वृक्षारोपण, स्थानीय प्रजातिको संरक्षण, हरित घेरा (Green Buffer Zone) आदि कार्यले हरियाली बृद्धि, जैविक विविधता संरक्षण तथा सहरी सौन्दर्य प्रवर्द्धनमा सकारात्मक प्रभाव परेको छ ।

संरक्षण प्रक्रियालाई दिगो बनाउन सम्बन्धित टोल विकास संस्था, महिला समूह, विद्यालय, हरित क्लब,  युवा स्वयंसेवक अभियान जस्ता स्थानीय सामुदायिक संघ, संस्थाहरुको सहभागिता सुनिश्चित गरिएको छ । जसको कारण सहज रुपमा स्थानीय नागरिकले ताल/पोखरी संरक्षण कार्यको अपनत्व लिने गरेका छन् ।

यस उप-महानगर क्षेत्रमा हालसम्म ८० भन्दा बढी तालहरु पहिचान भएका छन् । यी मध्ये ५० भन्दा बढी ताललाई संरक्षण गर्नु पर्ने खालका रहेका छन ।उपमहानगरपालिकाले चालेको संरक्षण अभियानबाट तौलाहा ताल, बडीगडैया ताल, बेहडा बाबा ताल, रक्सौना ताल र वडा नम्बर ६ को पोखरी संरक्षण गरेर उपयोगमा ल्याई सकिएको छ । यस्ता कार्यले जल संरक्षणमा सुधार, डुबान समस्या न्यूनीकरण, प्रदूषणमा कमी, जैविक विविधता संरक्षण, स्थानीय पंक्षी तथा जलचरको उपस्थितिमा वृद्धि हुनुका साथै सहरी सौन्दर्यमा आएको सुधारले पर्यटनको अवसर बढाउँदै लगेको छ ।

वातावरणमैत्री अभियान सफल हुनुमा मूलतः उपमहानगरपालिकाको नेतृत्व, इच्छाशक्ति र प्रतिबद्धता नै रहेको स्थानीय नागरिकहरुको बुझाई छ । साथै तथ्यमा आधारित संरक्षण प्रक्रिया. जग्गा संरक्षणसंग जोडिएको दृष्टिकोण, समुदायको सक्रिय सहभागिता, नीति, बजेट र कार्यक्रम बिच राम्रो तालमेल, जलवायु अनुकुलन र विपद् व्यवस्थापनसंग एकीकरण, सरोकारवालाहरु बीचको समन्वय जस्ता कारणहरु पनि सफलताका महत्वपूर्ण कारक हुन् ।

नोट: धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री जनकराज भट्ट संग छलफल गरी निज मार्फत प्राप्त सूचनाको आधारमा तयार गरिएको यस सफल अभ्यास २०८३ वैशाख २४ देखि २८ सम्म वीरेन्द्रनगर, सुर्खेतमा भएको नमुना परिक्षण र २०८३ जेठ १४ देखि १८ सम्म धुलिखेलमा भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रस्तुत गरी प्रमाणीकरण भएको थियो ।