पानी बिनाको जीवन कल्पना नै गर्न सकिदैन । मानव लगायत सबै जीव तथा बनास्पतिलाई चाहिने पानीको स्रोत या त जमिन बाहिर बरफको रुपमा रहेर क्रमसःपग्लने हिउँ (हिमालय/आइसल्याण्ड) हो या त जमिन मुनि संचित रहेको जल भण्डार नै हो । जमिन मुनि पानी तबसम्म रहन्छ जब हामि निकालेको अनुपातमा पुनःभरण गर्छौं । पानी पुन:भरण गर्ने सबैभन्दा राम्रो, प्रभावकारी र परम्परागत तरिका भनेको ताल/पोखरीहरु हुन् । पानीको पुनःभरण, जैविक बिबिधता संरक्षण तथा सामाजिक क्रियाकलापको केन्द्र रहेका यस्ता महत्वपूर्ण ताल/पोखरीहरु संरक्षणमा सुदुरपश्चिमको केन्द्र मानिने धनगढी उपमहानगरपालिकाले गरेको सफल प्रयाशलाई यहाँ प्रस्तुत गरिएको छ ।


तिब्र सहरीकरण, अब्यबस्थित जग्गा प्लटिंग तथा सार्बजनिक जग्गा अतिक्रमण, अव्यवस्थित फोहर ब्यवस्थापन एबम जथाभावी ढल निकास जस्ता समस्याको कारण धनगढी उपमहानगरपालिका क्षेत्रका परम्परागत ताल/पोखरीहरु क्रमशः सुक्दै, प्रदुषित हुँदै र अतिक्रमित हुँदै गएका थिए । देश संघीय संरचनामा गएर स्थानीय तहको अधिकारमा जलस्रोत संरक्षण परेपछि धनगढी उपमहानगरपालिकाले अभियान कै रुपमा ताल/पोखरी संरक्षण कार्यलाई अगाडी बढाएको छ ।
यस क्रममा सर्बप्रथम वडा वडामा सर्वेक्षण गरेर पोखरी पहिचान र जिआईएस नक्शांकन गर्ने काम गरि अतिक्रमित क्षेत्रको एकिन गर्ने काम गरिएको थियो । जसबाट संरक्षणका लागि कानूनी प्रक्रिया अघि बढाउन सहज हुनुको साथै दिर्घकालिन योजना बनाउन समेत आधार तयार भएको कुरा उपमहानगर प्रमुख श्री गोपाल हमाल व्यक्त गर्नुहुन्छ ।
पहिचान गरिएका पोखरिहरुको जग्गा सीमांकन. अबैध संरचना हटाउन पहल तथा प्रत्येक पोखरीमा जानकारीमुलक होर्डिंग बोर्ड राख्ने कामले भविष्यमा हुनसक्ने अतिक्रमण रोक्न सफल भएको छ । पहिचान भएका महत्वपूर्ण पोखरिहरुलाई पुनर्जीवन दिन माटो तथा झाडी सफाई, पानी संकलन प्रणाली सुधार, ढल पानी छुट्याउने संरचना निर्माण जस्ता काम गरि पानीको गुणस्तर सुधार, हिउँदमा जल संरक्षण तथा बर्षादमा डुबान समस्या न्यूनीकरण गर्न मद्दत पुगेको छ । पोखरी किनारमा वृक्षारोपण, स्थानीय प्रजातिको संरक्षण, हरित घेरा (Green Buffer Zone) आदि कार्यले हरियाली वृद्धि, जैविक बिबिधता संरक्षण तथा सहरी सौन्दर्य प्रबर्द्धनमा सकारात्मक प्रभाव पारेका छ ।
संरक्षण प्रक्रियालाई दिगो बनाउन सम्बन्धित टोल विकास सस्था, महिला समुह, विद्यालय हरित क्लब,युवा स्वयम्सेवक अभियान जस्ता स्थानीय सामुदायिक संघसस्थाहरुको सहभागिता सुनिस्चित गरिएको छ । यस्ता कार्यले गर्दा स्थानीयले संरक्षणको स्वामित्व लिएको कुरा प्रमुख प्रशासकीय अधिकृत श्री नरेन्द्र बहादुर खाती बताउनुहुन्छ ।
उपमहानगरपालिकाले चालेको संरक्षण अभियानबाट हालसम्म ८० भन्दा बढी तालहरु पहिचान भएका छन् । ५० भन्दा बढी ताललाई संरक्षण योग्य मानिएको छ । तौलाहा ताल, बडीगडैया ताल, बेहडबाबा ताल, रक्सौना ताल र वडा नम्बर ६ को पोखरी संरक्षण गरेर उपयोगमा ल्याई सकिएको छ । यस्ता कार्यले जल संरक्षणमा सुधार, डुबान समस्या न्यूनीकरण, प्रदूषणमा कमि, जैविक बिबिधता पुनर्स्थापना, स्थानीय पंक्षी तथा जलचरको उपस्थितिमा वृद्धि हुनुका साथै सहरी सौन्दर्यमा आएको सुधारले पर्यटनको अवसर बढाउदै लागेको छ ।
वातावरणमैत्री अभियान सफल हुनुमा ”मूलतः उपमहानगरपालिकाको नेतृत्व, इच्छाशक्ति र प्रतिबद्धता नै रहेको स्थानीय नागरिकहरुको बुझाई छ । साथै तथ्यमा आधारित संरक्षण प्रक्रिया. जग्गा संरक्षण संग जोडिएको दृष्टिकोण, समुदायको सक्रिय सहभागिता, नीति बजेट र कार्यक्रम बिच राम्रो तालमेल, जलवायु अनुकुलन र विपद व्यवस्थापन संग एकीकरण, सरोकारवालाहरु बीच राम्रो समन्वय जस्ता कारणहरु पनि सफलताको महत्वपूर्ण कारक हुन् ।
