उपत्यकाको प्राचिन नगर ललितपुर २०७३ सालदेखि महानगर बनेको हो । तिब्र बसाईसराई र अव्यवस्थित बसोबास तथा सार्बजनिक क्षेत्रमा भएको अतिक्रमणले काठमाण्डौ उपत्यकाको सुन्दरता एबम हरियालीमा गम्भीर असर परिरहेको सबैले महशुस गरेको विषय हो । जम्मा ३६ वर्ग किलोमीटर क्षेत्रफल ओगटेको ललितपुर महानगरपालिकामा २०७८ को जनगणना अनुसार प्रतिवर्ग किलोमीटर जनघनत्व ८१४२ रहेको छ ।पर्यटकीय महत्व बोकेको ऐतिहासिक नगरमा पर्यटकको आकर्षण  बढाउन तथा नगरलाई स्वच्छ र  सुन्दर बनाई नगरबासीको स्वच्छ वातावरणमा बाच्न पाउने मौलिक हकको प्रबर्द्धन गर्न आर्थिक बर्ष २०७९/८० देखि अभियान कै रुपमा हरियाली प्रवर्द्धन तथा सहरी सौन्दर्यीकरण कार्यक्रमलाई अघि बढाएको छ ।

अभियानको रुपमा अगाडी बढाएको यस कार्यक्रम अन्तर्गत हरियाली पार्क निर्माण, सडक किनारमा वृक्षारोपण, पोखरी संरक्षण र सौन्दर्यीकरण, सार्बजनिक जग्गा संरक्षण, सडक डिभाइडरमा पुष्प रोपण, Transparent Green Fence, स्मार्ट लाइट, स्मार्ट ट्राफिक लाइट, साइकल लेन, चक्रपथ हरियाली प्रबर्द्धन तथा संरक्षण जस्ता कार्यहरु रहेका छन् ।

यो अभियानलाई प्रभावकारी र दिगो रुपमा संचालन गर्न स्थानीय समुदाय (टोल बिकास समिति, आमा समुह, युवा समुह, सामुदायिक संघ सस्था) को जिम्मेवारी सहित सहभागिता , वित्तीय स्रोतको लागि निजी क्षेत्र संग सहकार्य (CSR), तहगत सरकार तथा विकास साझेदारहरु संग समन्वय तथा सहकार्य, निरन्तर अनुगमन समीक्षा र सुधार जस्ता रणनीति अङ्गीकार गरेको र नीतिगत निरन्तरता रहेको कुरा प्रमुख प्रशासकीय अधिकृत श्री रेखा दास बताउनुहुन्छ ।

ललितपुरका स्थानीय बासिन्दाहरु अहिले ललितपुरको सहरी क्षेत्रमा हरियाली बढेको, सहरी सुन्दरता गर्व लायक भएको, हरियालीयुक्त पार्कहरु निर्माण गरेको, कतिपय अतिक्रमित पोखरीहरु अतिक्रमण हटाई पोखरी कायम गरिएको, सार्बजनिक जग्गा संरक्षण गरि उक्त जग्गामा होर्डिंग बोर्ड राखी पारदर्शी बनाएको बिषयलाई नगरले गरेको प्रसंसनिय सफल कार्यका रुपमा उल्लेख गर्दछन्। पुल्चोकका स्थानीय बासिन्दाहरुका अनुसार अहिले धेरै राम्रो छ, बाटोमा रुख छन्, फूल रोपेको छ, धुलो कम आउछ, राम्रो भयो नि ।

यो अभियानले सफलता पाउनुमा राजनितिक नेतृत्वको स्पष्ट दृष्टिकोण सहित  प्रतिबद्धता, नीति कार्यक्रम र बजेटबीच राम्रो तालमेल, समुदायको स्वामित्व सहितको सहभागिता, निजी क्षेत्र र विकास साझेदारहरु संग सहकार्य र समन्वय, स्पष्ट कार्ययोजना सहितको कार्य जिम्मेवारी जस्ता कारणहरु महत्वपूर्ण रहेका छन् ।