| परिचय
खाद्य सुरक्षा एक बहु आयामिक विषय हो । सामान्यतया खाद्य सुरक्षालाई सफा र प्रयाप्त खाद्यान्नको उपलब्धतासँग जोडेर हेर्ने गरेको पाईन्छ । तर पोषण तथा खाद्य सुरक्षा खाद्यान्नको प्रयाप्ततासँग मात्र जोडिएको विषय नभई यो खाद्यान्नमा हुने भौतिक तथा आर्थिक पहुँच र खाद्यान्नको उपयोग सम्बन्धि मानविय व्यवहारसँग पनि सम्बन्धित छ । तसर्थ सक्रिय र स्वस्थ मानव जीवनका लागि चाहिने आवश्यक, सफा, सुरक्षित, पोषणयुक्त खाद्यान्नमा सबैको पहुँच सुनिश्चित भएको अवस्थालाई पोषण तथा खाद्य सुरक्षाको अवस्था भनिन्छ । खाद्य सुरक्षा अल्पकालिन र दीर्घकालिन दुवै प्रकृतिको हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार “प्राकृतिक तथा दिगो प्रक्रियाद्वारा खाद्यान्नको उत्पादन र सम्मानजनक वितरणको अवस्थालाई खाद्य सुरक्षा भनिन्छ ।” प्रत्येक व्यक्तिको सधै पर्याप्त, स्वच्छ तथा पोषणयुक्त र आफ्नो आवश्यकता र चाहना अनुरूपको खाना माथि भौतिक र आर्थिक पहूच भएमा मात्र खाद्य सुरक्षा भएको मान्न सकिन्छ । तथापि सामान्य अर्थमा खाद्य सुरक्षा भन्नाले सबै मानिसले पर्याप्त, पौष्टिक, सुरक्षित र पहुँचयोग्य खाना प्राप्त गर्ने अवस्था हो ।
खाद्य तथा कृषि संगठन (FAO) का अनुसार, खाद्य सुरक्षा देहायका चार स्तम्भमा आधारित हुन्छ ।
- उपलब्धता (Availability) – पर्याप्त खाना उत्पादन वा आपूर्ति हुनु ।
- पहुँच (Accessibility) – सबैलाई खाना किन्न वा प्राप्त गर्न सक्ने अवस्था हुनु ।
- प्रयोग (Utilization) – पौष्टिक खाना उचित तरिकाले खान र प्रयोग गर्न सक्ने स्थिति हुनु ।
- स्थायित्व (Stability) – निरन्तर रुपमा खानाको आपूर्ति हुनु र खानामा पहुँच कायम रहनु ।
नेपालमा खाद्य सुरक्षाका चुनौतीहरू
- जलवायु परिवर्तन र प्राकृतिक विपद्,
- कृषियोग्य भूमि घट्दै जानु,
- कृषि उत्पादन र उत्पादकत्वमा कमी आउनु,
- कृषकहरु वैकल्पिक रोजगारीका लागि विदेश जाने प्रवृत्ति वढ्नु,
- खाद्यान्नको भण्डारण र वितरण प्रणाली कमजोर हुनु ।
खाद्य सुरक्षा सुनिश्चित गर्ने उपायहरू
- स्थानीय कृषि उत्पादन प्रणालीको सुदृढीकरण,
- कृषि अनुसन्धान र उपयुक्त प्रविधिको विकास तथा विस्तार,
- सिँचाइ सुविधा र कृषि कर्मलाई सहयोगी पूर्वाधार विकास तथा विस्तार,
- मल, बीउ र पशु, पंक्षिको आहारको सहज आपूर्ती र कृषकको पहुँच वृद्धि,
- खाद्य भण्डारण र कृषकमैत्री बजार प्रणालीको विकास,
- समुदायमा आधारित खाद्य भण्डारण र सहकारी प्रणालीको विकास तथा सुदृढीकरण,
- जैविक विविधता संरक्षणको लागि सामुदायिक बीउ बैंकहरूलाई सहयोग ।
खाद्य सुरक्षाको लागि ऊर्जाः
नेपालले हालैका वर्षहरूमा खाद्य सुरक्षामा सुधार गरेको भए तापनि ४६ लाख मानिसहरू अझै पनि खाद्य असुरक्षित रहेको अनुमान गरिएको छ । यद्यपि, दुर्गम ग्रामीण क्षेत्रहरू विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा गम्भीर खाद्य सुरक्षाको अवस्था कमजोर छ । यहाँ वर्षभरिको लागि पर्याप्त खाद्यान्न उत्पादन हुदैन । यहाँका मानिसहरु वर्षमा ९ महिनाभन्दा बढी समयसम्म आफ्नो खाद्य आवश्यकता पूरा गर्न आम्दानीका अन्य स्रोतहरूमा निर्भर रहन वाध्य छन् । नेपालमा खाद्य सुरक्षा कमजोर हुनुमा खडेरी, बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोप र ऊर्जा लगायत कमजोर पूर्वाधार मुख्य कारक रहेका छन् । फलफूल र तरकारी जस्ता उच्च मूल्यका कृषि वाली उत्पादन गर्न नवीकरणीय उर्जाको प्रयोग गरी पानी लिफ्टिङको व्यवस्था गर्न सकिन्छ । त्यसैगरी, ऊर्जाद्वारा संचालित भण्डारण र ह्यान्डलिङ (जस्तै रेफ्रिजरेसन, सुकाउने, र प्याकेजिङ) ले उत्पादन पछिको खाद्य क्षतिलाई कम गर्छ । |