समय ४५ मिनेट
परिचय
जलवायु उत्थानशील कृषि भनेको यस्तो कृषि प्रणाली हो जसले जलवायु परिवर्तनका असरहरू (जस्तै तापक्रम वृद्धि, अनियमित वर्षा, बाढी, सुख्खा, कीरा रोग) को सामना गर्न सक्ने क्षमता राख्छ र दीगो रूपमा उत्पादन र जीविकोपार्जन सुनिश्चित गर्न सहयोग गर्दछ । यो जलवायु परिवर्तनवाट सृजना हुने जोखिम व्यवस्थापनको एक आधारभूत अवधारणा पनि हो । यसैले उत्थानशील (Resilient) ले जलवायु तथा मौसममा हुने परिवर्तनहरूको प्रभावहरूको पूर्वानुमान गरी आवश्यक तयारी गर्दै कृषि प्रणालीलाई परिवर्तित वातावरण अनुकूलन गर्ने क्षमता राख्दछ । यसले कृषि उत्पादन र उत्पादकत्वमा बृद्धि गर्ने, प्राकृतिक स्रोतको संरक्षण गर्ने, र जलवायु परिबर्तनको असर कम गरी कृषि प्रणाली अवलम्बन गर्न कृषकहरुको क्षमता विकासमा सहयोग गर्दछ । जलवायुमैत्री कृषि पद्धतिले कृषि उत्पादनलाई जलवायु अनुकुलन र न्यूनिकरणका प्रविधि र प्रक्रियाहरू मार्फत दिगो बनाउन मद्दत पुर्याउँदछ । जलवायुमैत्री कृषि पूर्ण रूपमा नयाँ पद्धति नभई बर्तमान अवस्थामा अभ्यास गरिएका असल अभ्यासहरूमा आधारित पद्धति हो जसले कृषि क्षेत्रको दिगो विकासका लागि जलवायु परिवर्तन अनुकुलन र न्यूनिकरणलाई एउटा प्रमुख विषयको रूपमा समावेश गरेको छ । नेपालमा जलवायुमैत्री कृषिको प्रबर्धन तथा विस्तार बाट स्थानीय ज्ञान, सीप र प्रविधिहरूको उचित व्यवस्थापन गर्न सकिने, स्थानीय स्रोतको सहि तथा दिगो परिचालन हुने, स्थानीय स्वरोजगारको सृजना गर्न सकिने, कृषि उत्पादनको लागत कम गर्न सकिने र कृषि प्रणालीको दिगो व्यवस्थापन गर्न सकिने सम्भावनाहरूलाई व्यवहारमा उतार्न सकिन्छ ।

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रले सामना गर्नु पर्ने चुनौती र यसको समाधान नखोजी आधुनिक कृषि पद्धति अपनाउँदा प्रति एकाई उत्पादनको लागत बढ्दछ । नेपालमा साना तथा मझौला कृषकहरूको संख्या बढी भएकोले प्रति एकाई कृषि उत्पादन गर्दा बढ्ने लागतले झन कृषकहरूको आर्थिक अवस्थामा थप चुनौती बढ्न सक्छ । यस्तो प्रकारको चुनौतीको सम्बोधन गर्नका लागि स्थान विशेष, कृषकहरूको क्षमतामा आधारित र स्थानीय स्रोतको सही उपयोग हुने कृषि प्रबिधि अवलम्बन गर्नु आवश्यक हुन्छ ।खाद्य तथा कृषि संगठन (FAO) का अनुसार, जलवायु उत्थानशील कृषिलाई जलवायु र चरम मौसममा हुने परिवर्तनको प्रभावको पूर्वानुमान गरी यसको असको असर कम गर्न आवश्यक तयारी गर्ने, अनुकूलन (Adaptation) गर्ने, अवशोषित (Absorb) गर्ने र पुनःप्राप्ति (Recover) गर्ने प्रणालीको क्षमता“ भनेर परिभाषित गरिएको छ ।

जलवायु उत्थानशील कृषिका प्रमुख उद्देश्यहरू
  • जलवायु परिवर्तनको जोखिम कम गर्ने ।
  • कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा सुधार गर्ने ।
  • माटो, पानी, वोटविरुवा लगायतका प्राकृतिक स्रोतहरुको संरक्षण गर्ने ।
  • कृषकको जीविकोपार्जन र आय आर्जनमा सुधार गर्ने ।
  • परिवर्तित वातावरण अनुकूलन पद्दति स्थापित गरी जोखिम न्यूनीकरण गर्न सहयोग गर्ने ।
जलवायु उत्थानशील कृषिका प्रमुख स्तम्भहरु
  • दिगोपना कायम गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि ।
  • जलवायु अनुकूलन कृषि प्रणालीको अवलम्वन ।
  • जलवायु पविर्तनका कारण कृषक र कृषि क्षेत्रमा पर्ने जोखिम न्यूनीकरण ।
जलवायु परिवर्तन कारण कृषि क्षेत्रमा देखापरेका चुनौति तथा असरहरु
  • चुनौतिहरु
    • कृषि प्रसारमा संलग्न कृषि प्राविधिकहरू र कृषकहरूमा पर्याप्त मात्रामा जलवायु अनुकुलन र न्यूनिकरण सम्बन्धि प्रविधिक ज्ञान नभएको । यसले गर्दा कुनै पनि प्रभाव जलवायु परिवर्तनको कारणले परेको हो या होइन भनि निर्धारण गर्न कठिन भएको ।
    • जलवायु अनुकुलन र न्यूनिकरणको कार्यक्रमहरू कार्यान्वयन गर्नका लागि आर्थिक तथा प्राविधिक श्रोतहरूको कमि भएको ।
    • जलवायु अनुकुलन तथा न्यूनिकरणका लागि तयार गरिएका कार्ययोजनाहरूको समयमै कार्यान्वयन गर्न नसकिएको ।
    • जिल्ला तथा स्थानीय सरकारस्तरका बार्षिक विकासको कार्यक्रममा कृषि क्षेत्रको अनुकुलनका लागि अति कम बजेट विनियोजन भएको र अधिकांस बजेट परम्परागत विकास निर्माणमा जाने गरेको ।
    • जिल्ला तथा स्थानीय सरकारस्तरमा सञ्चालन गरिदै आएका कार्यक्रमहरूको प्रभावकारी रूपमा अनुगमन हुन नसकेको ।
    • जलवायु अनुकुलन र न्यूनिकरणका कार्यक्रमहरू क्षणिक समयका लागि मात्र सञ्चालन हुने गरेको हुदा कार्यक्रमहरूको प्रभावकारिता दिगो हुन नसकेको ।
    • जलबायु अनुकुलन तथा न्यूनिकरण सम्बन्धी कार्यक्रमहरू विभिन्न सरकारी तथा गैर सरकारी निकायले (जस्तैः कृषि, वन, भुसंरक्षण, सिँचाई, र गैर सरकारी संस्थाहरू) सञ्चालन गरेका तर उनीहरू बीच पर्याप्त समन्वय नभएकोले कार्यक्रमहरू दोहारिने गरेको ।
    • जलवायु परिवर्तन सम्बन्धी कार्यक्रममा सामाजिक जवाफदेहिताका औजारहरूको प्रयोग न्यून भएको ।
    • कार्यक्रमहरू विपन्न र संकटासन्न समुदायमा पुग्न नसकेको ।
  • असरहरू
    • असामान्य खडेरी, अतिवर्षा, बाढी र पैह्रो जाने क्रम बढ्दो।
    • माटोको उर्वराशक्तिमा ह्रास आउने ।
    • बालीचक्रमा परिवर्तन र कृषि उत्पादनमा अनिश्चितता हुने ।
    • कृषि बालिमा नयाँ, नयाँ रोग तथा कीराको प्रकोप देखापर्ने ।
    • नदि तथा खोला, खोल्सामा पानीको मात्रा घट्नु र सिंचाइ प्रणाली कमजोर हुनु ।
    • जलसतह घट्दै जानु ।
    • पशुपंक्षिमा नयाँ रोग देखिने र गर्मी तथा जाडो सहनशिल क्षमता कम हुने ।
जलवायु उत्थानशील कृषिका केही प्रमुख विधिहरू
  • उत्पादन व्यवस्थापन
    • सूख्खा तथा बाढी सहन गर्न सक्ने, अधिक उत्पादन दिने र जलवायु अनुकुलन जातका बीउको प्रयोग गर्ने ।
    • समयानुकुल बाली चक्र परिवर्तन (Crop rotation) गर्ने ।
    • मिश्रित खेती र बहुउपयोगी बाली लगाउने ।
    • मलचिङ लगायत माटोलाई ढाक्ने अन्य प्रविधिको प्रयोग गर्ने ।
    • जैविक तथा कम्पोस्ट मलको प्रयोग वढाउने ।
    • माटो परीक्षण शिविर संचालन र माटो उपचार ।
    • IPM गतिविधिहरू संचालन गर्ने ।
  • जल तथा सिंचाइ व्यवस्थापन
    • पानी कम खपत हुने ड्रिप तथा स्प्रिंकलर सिंचाइ प्रणाली अवलम्वन गर्ने ।
    • वर्षाको पानी संकलन गर्ने प्रणालीको विकास गरी सिंचाइ सुविधा विस्तार गर्ने ।
    • प्लास्टिक घर, पोखरी निर्माण, पानी संकलन स्थल र साना सिंचाई सम्बन्धी प्रविधिको बिस्तार गर्ने ।
    • भू तथा जलाधार संरक्षणमा नागरिक सहभागिता वृद्दि गर्ने ।
    • सामुदायिक सिँचाइ पद्दति अवलम्वन गर्ने ।
    • बाढी नियन्त्रणको लागि बायो-इन्जिनियरिङ विधिको अवलम्बन गर्ने र ग्याबियन पर्खाल लगाउने।
  • माटो संरक्षण र गुणस्तर सुधार
    • गह्रा सुधार तथा भूक्षय न्यूनीकरण (Terracing) गर्ने ।
    • वृक्षारोपण गर्ने, भूई÷डाले घाँस लगाउने ।
    • अधिक मात्रामा हरियो मलको प्रयोग र जैविक विविधताको अवधारणा अवलम्वन गर्ने ।
    • माटो परीक्षण, रोकथाम र नियन्त्रणको लागि तटबन्ध निर्माण गर्ने ।
  • पशुपालनमा सुधार
    • रोगप्रतिरोधी जातका पशु पक्षिको छनोट गर्ने ।
    • चरन व्यवस्थापन गर्ने ।
    • गोठ सुधार र फोहोरमैला व्यवस्थापन गर्ने ।
    • पशु स्वास्थ्य शिविर सचालन गर्ने ।
  • नविन प्रविधिज्ञान र सीपको व्यवस्थापन
    • मौसम परिवर्तन, रोग किराको प्रकोप, स्थानीयस्तरमा कृषि श्रमिकको उपलब्धता, कृषि उपजको    मूल्यमा आउने उतारचढाव जस्ता उत्पादनका जोखिमहरूको सामना गर्न सक्ने कृषि प्रविधिको   विकास र विस्तार गर्ने ।
    • जैविक खेती र पर्यावरणमैत्री प्रविधिको अवलम्बन र विस्तार गर्ने ।
    • जलवायु परिवर्तनका कारण कृषि उत्पादन र खाद्य सुरक्षामा पर्न सक्ने असरलाई कम गर्ने ।
    • स्थानीय क्षमतामा आधारित पूर्व सूचना प्रणाली, मौसम पूर्वानुमान र चेतावनी प्रणाली संचालन गर्ने ।
    • कृषि सूचना प्रवाह र कृषक सशक्तीकरण कार्यक्रम संचालन गर्ने ।
    • स्थानीय ज्ञान, सीप र क्षमताको खोज, संयोजन तथा उपयोग गर्ने ।
    • मौसम पूवाानुमान प्रणाली मार्फत वास्तविक मौसम डाटा (real time data) प्राप्ति स्टेशनहरू र मौसम पूर्वानुमान प्रणाली स्थापना गर्न सहयोग गर्ने ।
    • उपयुक्त खेत जोत्ने विधिहरू (tillage practices), पानी व्यवस्थापन र सिँचाइ, वृक्षारोपण, कृषि वन, घाँस तथा चरन व्यवस्थापन जस्ता अभ्यासहरू वाट माटोको ओसिलोपन संरक्षण गर्ने ।
जलवायु उत्थानशील कृषि प्रवद्र्धनका रणनीतिहरू
  • कृषि र जलवायु अनुकुलन सम्बन्धी वहुसरोकारका नीतिहरु बीच सामन्जस्यता कायम गर्ने ।
  • स्थानीय तहले जलवायुमैत्री कृषि विकास योजना तर्जुमा गरी कार्यान्वयन गर्ने ।
  • कृषक समूह, सहकारी तथा स्थानीयस्तरमा कार्यरत कृषि प्राविधिकहरुको क्षमता विकास गर्ने ।
  • कृषि तथा पशु विमा कार्यक्रम, कृषिमा प्रभावकारी अनुदान, हरित अर्थतन्त्र (Green Economy) जस्ता   वित्तीय सुधार सम्बन्धी कार्यक्रम संचालन गर्ने ।
  • बायोग्यास (गोबरग्यास) प्रणालीको विस्तार गर्ने ।
  • रिचार्ज पोखरी निर्माण गर्ने ।
नेपालमा जलवायु उत्थानशील कृषि गर्न सकिने केही उदाहरणहरु
  • धान खेतमा माछा पालन (एकीकृत प्रणाली) ।
  • हिमाली तथा पहाडी क्षेत्रमा मा आलु-जौ-गहुँको मिश्रीत खेती प्रणाली ।
  • तराई तथा समथर क्षेत्रमा सुख्खा सहन गर्नसक्ने जातको धान (जस्तैः Hardinath-1, Sukkha dhan series) खेती गर्ने ।
  • जैविक मल, माटो संरक्षण, र वर्षाको पानी संकलन प्रविधि प्रयोग गर्ने ।
खाद्य सुरक्षा
परिचय

खाद्य सुरक्षा एक बहु आयामिक विषय हो । सामान्यतया खाद्य सुरक्षालाई सफा र प्रयाप्त खाद्यान्नको उपलब्धतासँग जोडेर हेर्ने गरेको पाईन्छ । तर पोषण तथा खाद्य सुरक्षा खाद्यान्नको प्रयाप्ततासँग मात्र जोडिएको विषय नभई यो खाद्यान्नमा हुने भौतिक तथा आर्थिक पहुँच र खाद्यान्नको उपयोग सम्बन्धि मानविय व्यवहारसँग पनि सम्बन्धित छ । तसर्थ सक्रिय र स्वस्थ मानव जीवनका लागि चाहिने आवश्यक, सफा, सुरक्षित, पोषणयुक्त खाद्यान्नमा सबैको पहुँच सुनिश्चित भएको अवस्थालाई पोषण तथा खाद्य सुरक्षाको अवस्था भनिन्छ । खाद्य सुरक्षा अल्पकालिन र दीर्घकालिन दुवै प्रकृतिको हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार “प्राकृतिक तथा दिगो प्रक्रियाद्वारा खाद्यान्नको उत्पादन र सम्मानजनक वितरणको अवस्थालाई खाद्य सुरक्षा भनिन्छ ।” प्रत्येक व्यक्तिको सधै पर्याप्त, स्वच्छ तथा पोषणयुक्त र आफ्नो आवश्यकता र चाहना अनुरूपको खाना माथि भौतिक र आर्थिक पहूच भएमा मात्र खाद्य सुरक्षा भएको मान्न सकिन्छ । तथापि सामान्य अर्थमा खाद्य सुरक्षा भन्नाले सबै मानिसले पर्याप्त, पौष्टिक, सुरक्षित र पहुँचयोग्य खाना प्राप्त गर्ने अवस्था हो ।

खाद्य तथा कृषि संगठन (FAO) का अनुसार, खाद्य सुरक्षा देहायका चार स्तम्भमा आधारित हुन्छ ।

  • उपलब्धता (Availability) – पर्याप्त खाना उत्पादन वा आपूर्ति हुनु ।
  • पहुँच (Accessibility) – सबैलाई खाना किन्न वा प्राप्त गर्न सक्ने अवस्था हुनु ।
  • प्रयोग (Utilization)  पौष्टिक खाना उचित तरिकाले खान र प्रयोग गर्न सक्ने स्थिति हुनु ।
  • स्थायित्व (Stability) – निरन्तर रुपमा खानाको आपूर्ति हुनु र खानामा पहुँच कायम रहनु ।

नेपालमा खाद्य सुरक्षाका चुनौतीहरू

  • जलवायु परिवर्तन र प्राकृतिक विपद्,
  • कृषियोग्य भूमि घट्दै जानु,
  • कृषि उत्पादन र उत्पादकत्वमा कमी आउनु,
  • कृषकहरु वैकल्पिक रोजगारीका लागि विदेश जाने प्रवृत्ति वढ्नु,
  • खाद्यान्नको भण्डारण र वितरण प्रणाली कमजोर हुनु ।

खाद्य सुरक्षा सुनिश्चित गर्ने उपायहरू

  • स्थानीय कृषि उत्पादन प्रणालीको सुदृढीकरण,
  • कृषि अनुसन्धान र उपयुक्त प्रविधिको विकास तथा विस्तार,
  • सिँचाइ सुविधा र कृषि कर्मलाई सहयोगी पूर्वाधार विकास तथा विस्तार,
  • मलबीउ र पशुपंक्षिको आहारको सहज आपूर्ती र कृषकको पहुँच वृद्धि,
  • खाद्य भण्डारण र कृषकमैत्री बजार प्रणालीको विकास,
  • समुदायमा आधारित खाद्य भण्डारण र सहकारी प्रणालीको विकास तथा सुदृढीकरण,
  • जैविक विविधता संरक्षणको लागि सामुदायिक बीउ बैंकहरूलाई सहयोग ।

खाद्य सुरक्षाको लागि ऊर्जाः

नेपालले हालैका वर्षहरूमा खाद्य सुरक्षामा सुधार गरेको भए तापनि ४६ लाख मानिसहरू अझै पनि खाद्य असुरक्षित रहेको अनुमान गरिएको छ । यद्यपिदुर्गम ग्रामीण क्षेत्रहरू विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा गम्भीर खाद्य सुरक्षाको अवस्था कमजोर छ । यहाँ वर्षभरिको लागि पर्याप्त खाद्यान्न उत्पादन हुदैन । यहाँका मानिसहरु वर्षमा ९ महिनाभन्दा बढी समयसम्म आफ्नो खाद्य आवश्यकता पूरा गर्न आम्दानीका अन्य स्रोतहरूमा निर्भर रहन वाध्य छन् । नेपालमा खाद्य सुरक्षा कमजोर हुनुमा खडेरीबाढी र पहिरो जस्ता प्राकृतिक प्रकोप र ऊर्जा लगायत कमजोर पूर्वाधार मुख्य कारक रहेका छन् । फलफूल र तरकारी जस्ता उच्च मूल्यका कृषि वाली उत्पादन गर्न नवीकरणीय उर्जाको प्रयोग गरी पानी लिफ्टिङको व्यवस्था गर्न सकिन्छ । त्यसैगरीऊर्जाद्वारा संचालित भण्डारण र ह्यान्डलिङ (जस्तै रेफ्रिजरेसनसुकाउनेर प्याकेजिङ) ले उत्पादन पछिको खाद्य क्षतिलाई कम गर्छ ।

स्थानीय तहले गर्नु पर्ने कार्यहरु
  • स्थानीय तहले जलवायु उत्थानशील कृषि सम्बन्धी नीति तर्जुमा गरी यसलाई स्थानीय तहको समग्र शासकीय प्रक्रियामा मूलप्रवाहीकरण गर्नु पर्दछ । यस्तो नीति अन्य विषयगत क्षेत्रहरुसंग समेत सम्बन्धित रहन सक्ने हुदा आवधिक तथा वार्षिक योजनाबजेट र संस्थागत संरचनाहरुमा समेत यस नीतिलाई मूलप्रवाहीकरण गर्ने ।
  • जलवायु उत्थानशील कृषि व्यबसायको प्रवद्र्धन गर्न विपन्न तथा सिमान्तकृत वर्गसाना किसानमहिला र युवा कृषि उद्यमीहरुलाई उनिहरुको आवश्यकता अनुसार सीप तथा क्षमता विकास तालिम दिने ।
  • स्थानीय रैथाने वालीको संरक्षणप्रवर्धनविकास र विस्तार गर्ने ।
  • अर्गानीक खेति प्रणालीको विस्तार र उत्पादित कृषि उपजको बजारीकरणमा समन्वय र सहजीकरण गर्ने ।
  • सडक किनारामा रूख रोप्नेघर–घरमा हरियो छाना जडान गर्ने जस्ता भवन सुधारहरूको संयोजन गर्ने ।
  • जलवायु परिवर्तनले विशेष गरी सीमान्तकृत र विपन्न समुदायलाई असर गर्ने र यसवाट असमानताको खाडल वढ्न सक्ने हुदा विपन्न र सीमान्तकृत वर्गलाई ध्यानमा राखि यस्तो कार्यक्रम संचालन गर्ने ।
निष्कर्ष
  • जलवायु उत्थानशील कृषि नेपालको दीगो विकासको आधार हो । यसले कृषि उत्पादन बढाउनको साथै पर्यावरण संरक्षण, खाद्य सुरक्षा र ग्रामीण जीविकोपार्जनलाई समेत सुदृढ गर्न मद्दत गर्दछ ।
  • संघ, प्रदेश र स्थानीय तहका सरकार, कृषि विज्ञ र कृषक÷समूहबीच सहयोग, समन्वय र सहकार्य वाट मात्र यो कार्य सम्भव हुन सक्दछ ।